घोषणापत्रका २० ग्यारेन्टीको सुनिश्चित भुक्तानी : अध्यक्ष ओली
१५ कार्तिक, काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणापत्रमार्फत पार्टीले सार्वजनिक गरेका २० ग्यारेन्टीको भुक्तानी एमालेले नेपाली जनतालाई सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन ।
पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्न मंगलबार आयोजित ‘एमालेको चुनावी घोषणापत्र :ओली सँग लाइभ डिवेट’ कार्यक्रममा अध्यक्ष ओलीले सो प्रतिवद्धता जनाएका हुन ।
‘मंसिर ४, एमाले सरकार’ मुख्य नाराका साथ घोषणापत्रमा उल्लेख गरिएका २० ग्यारेन्टी कसैलाई झुक्याउने र छक्काउने विषय नभएको बताए । एमालेले जारी गरेको घोषणापत्रका २० कामको ग्यारेण्टी नेपाल राष्ट्र बैंकले जारी गरेका नोट जत्तिकै हुने वताउँदै अध्यक्ष ओलीले मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बनेमा पाँच वर्षमा अहिले गरिएका सबै ग्यारेन्टीको भुक्तानी दिने बताए ।
पाँच वर्षमा देशलाई भ्रष्टाचारमुक्त देश बनाउने प्रतिवद्धता जनाउँदै अध्यक्ष ओलीले थप भने, ‘नेतृत्वमा प्रतिवद्धता भयो भने भ्रष्टाचार अन्त्य सम्भव छ, वचनले होइन व्यवहारमा देखाउँछौं ।’
पाँच वर्षभित्र पूर्वाधार विकासको आधारभूत संरचना तयार गरिसक्ने अध्यक्ष ओलीको भनाइ छ । दुई वर्षभित्र मुलुकलाई साक्षर बनाएर मुलुकमा प्रविधिको विकास गरी आत्मनिर्भर नेपाल निर्माण गर्नमा एमाले सक्षम रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘अहिलेको जस्तो परम्परागत शैलीले देशको विकास सम्भव छैन, नीतिगत सुधार, प्रशासनिक सुधार गरेर युद्धस्तरमा काम गरेमा मात्र देशले आर्थिक, प्रशासनिक र नीतिगतरुपमा कोल्टे फेर्छ, त्यसका लागि एमाले नेतृत्वको सरकार सक्षम हुन्छ ।’
यसअघि करिब दुई तिहाई सरकारको नेतृत्व गर्दा पनि काम हुन नसकेको भन्ने जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘२०७४ को निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो, समानुपातिकतर्फ ४१ गरी १२१ सिट थियो, सरकार बनाउन कम्तिमा १३८ सिट चाहिन्थ्यो । अरु पार्टीलाई ल्याएर जोरजाम गरी बहुमत बनाइएकाले सोचेकोजस्तो काम गर्ने वातावरण बनेन ।’ अध्यक्ष ओलीले जसरी हुन्छ एमाले छोडेर, तोडेर जानेहरुका कारण सरकार टिकाउन नसकिएको स्पष्ट पारे ।
मंसिर ४ को निर्वाचनबाट एमाले एक्लैलाई बहुमत प्राप्त भएमा पाँच वर्षमा मुलुकलाई आर्थिक समृद्धिको पथमा लग्ने उनले प्रतिवद्धता जनाए । त्यो क्षमता र काम गर्ने शैली आफूसँग भएको उनले प्रष्ट पारे ।
यसअघि २०७४ को निर्वाचन पछि बनेको एमाले नेतृत्वको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन विकासको अभियान शुरु गरेको र त्यसलाई पूणर्ता दिन अव फेरि पाँचवर्षे एमाले नेतृत्वको सरकारको अपरिहार्यता रहेको अध्यक्ष ओलीको भनाइ छ । ४१ महिना सरकारमा रहँदा आफूले आर्थिक समृद्धिको जग राख्ने काम गरेको उनले बताए ।
देशमा उद्यमशीलताको विकास गरेर रोजगारी बढाउने र वार्षिक पाँच लाखलाई रोजगारी प्रदान गर्ने नीति एमालेले लिने उनले बताए । युवा जनशक्तिलाई विदेशमा होइन, स्वदेशमै परिश्रम गर्ने वातावरण बनाउने अध्यक्ष ओलीको प्रतिवद्धता छ । पूर्वाधारको विकास विना, ठूला आयोजनाको विकास विना र उद्योगको विकास विना रोजगारी सिर्जना नहुने हुनाले त्यसको विकासमा ध्यान दिने उनको भनाइ छ ।
नेपालीलाई सक्षम बनाई विश्व प्रतिस्पर्धामा खरो उतार्नेगरी जनशक्ति निर्माण आवश्यक रहेको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई एकल बहुमत आएमा बन्ने पाँच वर्षे सरकारले देशलाई अल्पविकसित देशबाट विकासशील देशमा उभ्याउने प्रतिवद्धता जनाए । अहिले राज्य संयन्त्रको व्यापक दुरुपयोग भएको, भ्रष्टाचारमा मुलुक व्याप्त भएका कारणले देशले आर्थिक रुपमा फड्को मार्न नसकेको उनको भनाइ छ ।
देशको नेतृत्व गर्नेले देश र जनताको पक्षमा काम गर्नुपर्छ, आफन्त परिवार र आफ्नो निकटको पक्षमा होइन अध्यक्ष ओलीले थपे, ‘युवालाई पैतृक सम्पत्तिमा रमाउने होइन, आफ्नो खुट्टामा आफै उभिने र देशको पक्षमा काम गर्नेगरी सक्षम बनाउनुपर्छ ।’
राज्य भनेको जनताको सेवक भएकाले जनताको हित नै केन्द्रमा राखेर आफूले काम गरिरहेको उनले बताए । अर्को प्रसङ्गमा अध्यक्ष ओलीले नेपालको गुमेको भूभाग समेटेर नयाँ नक्सा जारी गरिएको र भूभाग फिर्ताका लागि एमाले नेतृत्वको सरकार अनिवार्य रहेको बताए । संसदबाट सर्वसम्मत रुपले पारित भएर बनाएको नयाँ नक्सामा समेटिएको भूभाग नै आजको नेपाल भएको उनल दावी गरे ।
उनले मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) भएको र आगामी निर्वाचनमा एमाले बाहेक कसैले पनि बहुमत ल्याउन नसक्ने हुँदा ५१ प्रतिशत भोट एमालेलाई दिन जनतालाई आग्रह गर्दै अध्यक्ष ओलीले एमाले बहुमत हासिल गरी देश विकास गर्ने मिसनमा रहेको र दिनहुँ एमालेमा प्रवेश चलिरहेकाले पनि एमालेले शानदार बहुमत ल्याउँछ भन्ने कुरामा आफ्नो दृढ विश्वास रहेको बताए ।
प्रतिकृया दिनुहोस्