February 16, 2026, Monday
२०८२ फाल्गुन ४, सोमबार

प्याउली उपन्यासलाई आख्यान पुरस्कार

काठमाडौं । साहित्यपोस्टले हरेक वर्ष नव कवि लेखकलाई प्रदान गर्दै आएको तीन पुरस्कार अर्पण गरेको छ ।वर्ष २०८१ का लागि साहित्यपोस्ट आख्यान पुरस्कार ‘साहित्यपोस्ट आख्यान पुरस्कार’ बालिका बान्तावाको उपन्यास ‘प्याउली’लाई प्रदान गरियो । त्यस्तै ‘साहित्यपोस्ट काव्य पुरस्कार’ कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुभन्दा अघि नै गइसकेको थिएँ’ लाई, र ‘साहित्यपोस्ट गैर–आख्यान पुरस्कार’ रमेश भुसालको नियात्राकृति ‘छालबाटो’लाई अर्पण गरिएको हो ।

Advertisement

प्रत्येक विजेता कृतिका लेखक तथा कविले जनही ५० हजार राशि पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्याउली उपन्यासका लेखक बालिका बान्तावाले आफुले प्राप्त गरेको ५० हजार रुपैँया पुरस्कारको रकम साहित्यमा केही गरौँ भनेर हुटहुटी बोकेका युवाहरुको समूह ‘सम्भव’ लाई सहयोगको रुपमा प्रदान गरीन् । उनले पुरस्कार बारे फेसबुकमा लेख्दै भनिन्– “भनिन्छ, खुसी बाँडे दोव्वर हुन्छ । उपन्यास प्याउलीले यस्तै एउटा खुसी दिएको छ । हजुरहरू समक्ष त्यहीँ खुसी साट्न गइरहेकी छु । प्याउलीले साहित्यपोस्ट श्रेष्ठ आख्यान पुरस्कार प्राप्त गर्न सफल भएको छ । यसले मेरो लेखन यात्रामा आत्मबल बढाएको छ । सर्बप्रथम पुरस्कारको हकदार सम्झिदिनुभएकोमा साहित्यपोस्टको ब्यावस्थापन टिम, निर्णायक, पुरस्कार दाता र आम पाठकहरुप्रति धन्यवाद/आभार ब्यक्त गर्दछु ।”

“प्याउलीले प्राप्त गरेको पुरस्कार रासी (५० हजार रुपैयाँ) साहित्यमा केही गरौँ भनेर हुटहुटी भएका प्रतिभाशाली युवा कविहरुको समूह सम्भवलाई प्रोत्साहन र प्रेमका रूपमा अर्पण गरेकी छु । सम्भवको उदेश्यमा मेरो सानो साथले, थप एउटा इटको काम गर्छ भन्ने बिश्वास लिएकी छु ।”

उपन्यासकार बालिका बान्तावाको अनुपस्थितिमा सम्भव समूहका कवि उत्तम तुम्छा लिम्बुले लेखक बान्तावाको प्रतिनिधि भएर पुरस्कार ग्रहण गरेको हो ।हरेक वर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको अवसर पारेर साहित्यपोस्टले पुरस्कार बितरण गर्दै आइरहेको छ । आइतबार काठमान्डौँ स्थित एपेक्स बिजनेस होटल, एअरपोर्टमा आयोजित एक भव्य कार्यक्रमका बीच नवरत्न सम्मान, पुरस्कार घोषणा तथा पुरस्कार अर्पण कार्यक्रम एक साथ गरिएको हो ।

कार्यक्रममा काव्य, आख्यान र गैरआख्यानतर्फको पुरस्कारहरूको घोषणा क्रमशः प्रा.डा. सनतकुमार वस्ती, गोपी मैनाली र महेश पौड्यालले गरेका थिए । कार्यक्रमका सभापति तथा साहित्यपोस्टका प्रधान–सम्पादक अश्विनी कोइराला तथा पुरस्कार प्रायोजक चैतन्य अधिकारी र विनयकुमार भण्डारीले संयुक्त रुपमा विजेताहरूलाई नगद राशिका साथमा प्रमाणपत्र प्रदान गरेको हो ।

उक्त कार्यक्रममा ‘साहित्यपोस्ट नवरत्न २०८१’ लाई प्रमाणपत्रका साथमा खादा ओढाएर सम्मान समेत गरिएको थियो । साहित्यपोस्ट नवरत्न २०८१ बाट सम्मानित हुनेहरूमा कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’का सर्जन हेमन्त शिशिर, ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’का सर्जन आर्यश, ‘मायाको आयतन’का सर्जक मधुसुदन घिमिरे, कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’का सर्जक रमण, उपन्यास ‘धीमहि’का सर्जक जयराम तिमल्सिना, उपन्यास ‘प्याउली’का सर्जक बालिका वान्तावा, नियात्राकृति ‘छालबाटो’का सर्जक रमेश भुसाल, संस्मरणकृति ‘छोटु’का सर्जक सञ्जीव पौडेल र निबन्धकृति ‘मार्केट अफ स्वीटहार्ट’का सर्जक तारा भट्टराईले प्राप्त गरेका हुन् ।
सोही कार्यक्रममा ‘साहित्यपोस्ट एप’को औपचारिक रूपमा सार्वजनिकीकरण समेत गरिएको थियो । एप तथा साहित्यपोस्टका पछिल्ला गतिविधिहरूका बारेमा अच्युत कोइरालाले प्रकाश पारेका थिए ।
त्यसैगरी, कवि तथा अधिकक्ता पेशलकुमार लुइँटेलले आउँदो वर्षबाट आफ्नो प्रायोजनमा साहित्यपोस्टमार्फत् अंग्रेजीतर्फ समेत एक पुस्तकलाई पुरस्कृति गर्ने घोषणासमेत गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0