“फ्री भिसा फ्री टिकट “राजनीतिक प्रोपोगन्डा ,युवा खाडिमा माधव नेपाल चिल्लो गाडीमा
विना ढेउवा फ्रिभिसा फ्रिटिकट अर्थात् फ्रिबिज केही दिन अगाडि नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी) का नेता माधवकुमार नेपालले आफ्नो निर्वाचन क्षेत्र रौतहट-१ मा चुनाव प्रचारको क्रममा विना ढेउवा (पैसा) फ्रिभिसा फ्रिटिकटको मतदाताहरूलाई प्रलोभन दिएको समाचार चर्चाको विषय बनेको छ । अर्थशास्त्रका विद्यार्थीहरू फ्रिलन्च अवधारणाबारे अवगत नै छन् । माधवकुमार नेपालको भाषण अर्थशास्त्रको अर्को अवधारणा फ्रिबिज हो । यसबारे अर्थशास्त्रमा नोबेल पुरस्कार पाएको जोडी अभिजीत बनर्जी र इस्थर डुफ्लोले भारतमा अनुसन्धान गरेका छन् । दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टीले चुनावको बेला नि:शुल्क स्वास्थ्य, नि:शुल्क शिक्षा, महिलालाई नि:शुल्क यात्रा सुविधा, न्यून तोकिएको सीमासम्म प्रयोग गर्नेलाई नि:शुल्क पानी, र नि:शुल्क बिजुलीको बाचा गरे अनुसार सुविधा दिइरहेको छ । तमिलनाडु सरकारले चुनावको बेला बाचा गरे अनुसार स्कुले छात्राहरूलाई नि:शुल्क साइकल, विद्यार्थीहरूलाई ल्यापटप, नि:शुल्क स्वास्थ्य विमा, ग्रामीण मतदाताहरूलाई गाई, भैंसी, बाख्रा, कुखुरा मात्र बाँडेन सहरमा मिक्चर ग्राइन्डर, पंखा, टेलिभिजन पनि बाँडिएको थियोे । औषधि विज्ञानमा पनि फ्रिबिजको निकै प्रचलन रहेको देखिन्छ । औषधि उत्पादकहरूले डाक्टरहरूलाई फ्रिबिज (सित्तैमा) औषधि दिएर बिरामीहरूलाई सिफारिस गरिदिन लोभ्याउँछन् । सन २०२१ मा “डोलो ६५०” कोभिड-१९ का बिरामीहरूलाई सिफारिस गर्दा कम्पनीले भारु ५०० करोड कमायो । यो औषधि कोभिड-१९ का लागि खाजा उपनामले चिनियो । फ्रिबिजबारे भारतको प्रख्यात प्राज्ञिक जर्नल इकोनोमिक एण्ड पलिटिकल वीकलीले सम्पादकीय नै लेख्यो ।
२०४८ को चुनावको बेला नेपाली कांग्रेसले युवाहरूलाई जापान पठाउने भनेर नाम संकलन गरेको थियोे । कांग्रेसले चुनाव जितेपछि कति युवा जापान पठाइए पत्तो छैन । २०७४ को चुनावमा पानीजहाज, घरघरमा ग्यास पाइप, गाउँगाउँमा सिंहदरबार, दुई अंकको आर्थिक वृद्धि आदि फ्रिबिजका अनेक बाचा गरिए तर नेपाली जनताले वृद्धभत्ता बाहेक फ्रिबिजमा केही पाएका छैनन् । राजनीतिक नेतृत्व भ्रष्टाचार, तस्करी, लूटमा लिप्त छ; फ्रिबिज पनि यो वर्गले नै पचाएको छ । केही मानिसहरूले निर्वाचन आयोगले माधवकुमार नेपाललाई कार्वाही गर्ने कुरा उठाएका छन् तर फ्रिबिजमा निर्वाचन आयोगमा पद पाएका पदाधिकारीहरूले त्यो हैसियत राख्दैनन् । माधवकुमार नेपालहरूलाई वर्तमान संविधानको छिद्रछिद्र थाहा छ । कमजोर संविधानको कमजोरीसँग खेल्ने नेताहरूको नियति देखिएको छ ।नेपालको संविधान कोरोना र डेंगु लागेको मानिस जस्तो थलिएको छ । नेपालको संविधान दस वर्ष नपुग्दै क्षतविक्षत भइसकेको छ । ओलीले दुई पटक संसद विघटन गरे । अदालतले पुनस्थापना गर्यो । प्रधान न्यायाधीश महाअभियोग झेलिरहेका छन् । समस्या संविधानमा छ र यो संविधान अन्तर्गतको निर्वाचनले नेपाली जनताको समस्या समाधान हुने कुनै संकेत देखिदैन । माधवकुमार नेपाल यो निर्वाचनका प्रतिनिधि पात्र हुन् सबै उम्मेदवारहरूको उद्देश्य एउटै छ नेपाली जनताको नाममा लूट र भ्रष्टाचार । चुलेसी फर्सीमाथि खसोस् वा फर्सी चुलेसी माथि झरोस् काटिने फर्सी नै हो अर्थात् लूटिने नेपाली जनता नै हो ।
प्रतिकृया दिनुहोस्