साझेदारी बनको प्रतिनिधी छनौटमा अनियमितताको आरोप
पुष ७, कपिलवस्तु ।
देशकै नमूना मानिएको तिलौराकोट साझेदारी बनले अधिवेशन प्रतिनिधी छनौटमा अनियमितता गरेको आरोप दलित अधिकारकर्मीहरुले लगाएका छन् । पुस ९ गते हुन गइरहेको अधिवेशनमा दलित समुदायलाई प्रतिनिधी बाट बञ्चित गरिएको भन्दै अधिकारकर्मीहरुले पुनः प्रनिनिधि चयनको माग गरेका हुन् ।
दलित अधिकारकर्मी इन्द्रप्रसाद हरिजनले तिलौराकोट साझेदारीले गरेको २८ वटा वडा प्रतिनिधी चयनमा आफु अनुकुलका व्यक्ति छनौट गरि दलित समुदायलाई अधिकारबाट बञ्चित गरेको आरोप लगाएका छन् । साझेदारीले चयन गरेको २८ वटा वडा मध्ये १० वटा वडामा शुन्य दलित प्रतिनिधी रहेको उनको भनाई छ । “सात–सात जना प्रतिनिधी चयन गर्दा खै समावेशिताको सिद्धान्त ? के अधिकार काजगमा मात्रै सिमित छ ?”उहाले प्रश्न गर्नुभयो ।
तिलौराकोट साझेदारी बनको अधिवेशन प्रकृया यथाशिघ्र स्थगन गरि संघिय बन नियमावली तथा प्रदेश बन नियमावलीले तोके अनुसारको ढाचामा समावेशी प्रतिनिधीत्व गर्न माग गर्दै दलित अधिकारकर्मीहरु विहिबार डिभिजन बन कार्यालयमा गई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र अनुसार प्रदेश बन नियमावलीको परिच्छेद ५ को दफा ११ को उपदफा ८ बमोजिम प्रत्येक वडाबाट ३ महिला सहित समावेशिताको सिद्धान्तका आधारमा ७ जना प्रतिनिधी चयन गर्नुपर्ने उल्लेख भएपनि कपिलवस्तु नगरपालिकाका ५ वडा, बाणगंगा नगरपालिकाका ३ वडा र यशोधरा गाउँपालिकाका २ वडामा दलित समुदायको प्रतिनिधीत्व गराइएको छैन ।
दलित अगुवा विश्राम कोरीले योजनाबद्ध रुपमा दलित समुदायलाई अधिकारबाट बञ्चित गराउने षडयन्त्र अनुसार यस्तो क्रियाकलाप गरिएको आरोप लगाउनुभयो । सरकार र समुदायको साझेदार रहेको बन उपभोक्ता समितिमा समते विभेद गरिन्छ भने अन्य क्षेत्रको अवस्था सहजै बुझ्न सकिने बताउदै उहाले तत्काल प्रतिनिधी चयन नसच्याईए कानूनी उपचार तथा सडकबाट विरोध गर्ने बताउनुभयो ।
यसबारे डिभिजन बन कार्यालयले तिलौराकोट साझेदारी बनको प्रतिनिधी चयन हेरेर आवश्यक सुधार गर्ने बताएको छ । यहि पुष ९ गते कपिलवस्तुको तौलिहवामा हुन गईरहेको तिलौराकोट साझेदारी बनको अधिवेशनमा ५ वटा पालिकाका २८ वडाबाट १९६ जना प्रतिनिधी चयन गरिएको छ । अधिवेशनले आगामी ४ बर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिकृया दिनुहोस्