संस्कृति इन्टरनेसनल स्कुलमा डिजिटल युगमा साक्षरता प्रवर्द्धन विषयक अन्तरक्रियात्मक कार्यक्रम
काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ को अवसरमा संस्कृति इन्टरनेसनल स्कुल, ठुलो भर्याङ्गले “Promoting Literacy in the Digital Era” (डिजिटल युगमा साक्षरता प्रवर्द्धन) भन्ने नाराका साथ विविध कार्यक्रम सम्पन्न गरेको छ।विद्यालयले साक्षरता सप्ताहकै भागस्वरूप आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकको समेत उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालय निर्देशक दिप्ती आचार्य, प्रधानाध्यापक तिमिला श्रेष्ठ, सह–प्रधानाध्यापक अमित मन्त्रीलगायत विद्यालय प्रशासनका प्रतिनिधिहरू र विद्यार्थीहरूको विशेष उपस्थितिमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजकर्ताको भूमिका विश्व सिग्देलले निर्वाह गरेका थिए।विशेष वक्ताका रूपमा संचारकर्मी तथा साहित्यकार दीपक समिर, कवयित्री एवं पत्रकार सकुन्तला जोशी र पुस्तक व्यवसायी तथा प्रकाशक सुदेश डोटेलले आ–आफ्ना विचार राखेका थिए। उनीहरूले पठन संस्कृतिको महत्व, डिजिटल युगमा साक्षरता विस्तारका अवसर र चुनौतीहरूबारे गहन विश्लेषण गर्दै विद्यार्थीहरूसँग अनुभव बाँडे।
संचारकर्मी दीपक समिरले बाल्यकालमा पढेका पुस्तकहरूले आफूलाई जीवनको मार्गदर्शन गरेको अनुभव सुनाउँदै आजको पुस्तामा पुस्तक पढ्ने बानी कमजोर हुँदै गएको भन्दै यसलाई डिजिटल प्रविधिसँग सन्तुलन गर्नुपर्ने बताए। कवयित्री सकुन्तला जोशीले आफ्नो साहित्यिक यात्राको अनुभव प्रस्तुत गर्दै डिजिटल माध्यमले ज्ञान र सूचना प्राप्त गर्न सहजता ल्याए पनि यसको असावधानीपूर्ण प्रयोगले पठन संस्कृतिमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइन्। प्रकाशक सुदेश डोटेलले अतिरिक्त पुस्तक पठनले सिर्जनात्मकता र समालोचनात्मक सोचलाई सबल बनाउने भन्दै नयाँ पुस्ताले डिजिटल साक्षरतासँगै पुस्तक संस्कृतिलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले साहित्य, डिजिटल प्रविधि, पठन संस्कृतिको भविष्य, पुस्तक छनोट, पढ्न समय निकाल्ने उपाय, पढाइप्रति उत्साह जगाउने तरिका जस्ता विषयमा वक्ताहरूसँग जिज्ञासा राखेका थिए। प्रश्नोत्तर सत्रमा विद्यार्थीहरूले आफ्ना जिज्ञासा राख्दा वक्ताहरूले प्रष्ट जवाफ दिँदै व्यावहारिक सुझाव पनि दिएका थिए।
विद्यालय प्रशासनले कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै पठन संस्कृतिको निरन्तर प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले अघि बढाइने जानकारी दिएको थियो।



















प्रतिकृया दिनुहोस्